चितवन । नयाँ वर्ष २०८२ सालको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिव्र तयारी भइरहेको छ ।
नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जिन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले प्रस्तुति दिँदैछन्।
सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको बताएको छ। एसडि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इयर फेस्ट नामक सांगीतिक कन्सर्ट गर्ने जमर्को कसेको हो। कन्सर्टमा चितवनसहित अन्य छिमेकी जिल्लाहरुबाट दर्शकहरु आउने अपेक्षा गरिएको छ ।
मिसन रेड अभियान अन्तर्गत आयोजित भव्य कन्सर्टमा चर्चित मन्त्र ब्याण्डको बेजोड प्रस्तुति रहनेछ। मन्त्र ब्यान्ड नेपाली सङ्गित पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो सङ्गित मार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ। यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र एतिहासिक ब्याडमा पर्दछ । ब्यान्ड्ले बिगत २५ वर्षदेखि निरन्तर आफ्नो सङ्गित मार्फत नेपालीलाई सुमधुर संगीतको सुर,धुन र तालमा झुमाईरहेको छ। ‘बिर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’ लगायत गितहरु यस ब्याण्डका चर्चित गीत रहेका छन्।मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको मानिन्छ।
चितवनमा हुन लागेको भव्य सांगीतिक कन्सर्टमा आउन लागेको अर्को चर्चित ब्यान्ड हो – कुटुम्ब ब्यान्ड। यस ब्यान्ड आफ्नै मौलिक शैलीका कारण नेपाली साङ्गितिक क्षेत्रमा गर्विलो स्थानमा छ। कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिँदै आएको छ।
जति विदेशमा प्रस्तुति दिएपनि आफूहरु स्वदेशमै नेपाली संगितका पारखिहरुसंग झुम्न रुचाउने ब्याण्डका कलाकार बताउँछन्। २० वर्ष देखि सुरु भएको निरन्तर सांगीतिक यात्रामा कुटुम्बले संगीतमार्फत स्वयमंसेवा गर्न सकिने सन्देश प्रवाह गर्न सफल भएको छ।कुटुम्ब ब्याण्डका सदस्यहरु आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्ने गरेको बताउँछन्।
कुटुम्ब साङ्गीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साङ्गीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।
ब्यान्ड समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्कमा बास बस्न सफल छन् ।
चितवनमा आयोजित भव्य कन्सर्टमा द एक्स ब्याण्डको टिम आउँदैछ।नेपाली संगीतमा अर्को चर्चित ब्यान्ड हो – द एक्स ब्यान्ड। ‘तिम्रो नजरले’ , ‘एउटा चिठीको सहाराले’ , ‘बाईरोडको बाटोमा’ , ‘ठाडो जाने उकालो’ लगायत चर्चित गितहरु यस ब्याण्डका रहेका छन जो अहिलेपनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा छ्न्। नारायणीमा हुने कन्सर्टमा द एक्स ब्यान्डले पनि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ।
समीर श्रेष्ठलाई पछिल्लो समय नचिन्ने र नसुन्ने सायदै होला , नयाँ पुस्तामाझ लोकप्रीय नाम हो समीर श्रेष्ठ ।समीरले सन् २०२१ मा’ चार देवार गीत’बाट आफ्नो सांगीतिक यात्रा सुरु गरे । सन् २०२२ मा उनको गीत ‘ तिमि भएर’ नेपाली दर्शकमाझ लोकप्रिय बन्यो,जसबाट उनले दर्शकको अत्याधिक माया पाए । सन् २०२२ मा उनले ‘मायालु सुनन ‘गीत रिलिज गरे ।यस्तै सन् २०२३ मा ‘उनी ,जे छौ तिमि’ गीत लिएर आए, जुन युट्युबमा ट्रेण्डिङमा पर्यो , जसले उनलाई नेपाली सहित अन्तर्राष्ट्रिय दर्शकहरूमाझ थप परिचित बनायो।
उनको पहिलो डेब्यु गीत थियो ‘चार देवर’, जुन सन् २०२१ मा रिलिज भएको थियो ।उनको ‘तिमि भएर’, ‘मायालु सुनन’, ‘जे छौ तिमि’ लगायत गितहरु चर्चित छन् ।
यही चैत ३१ गते चितवनमा हुने भव्य सांगीतिक कन्सर्टमा केहेर एण्ड जोए ले आफ्नो बेजोड प्रस्तुति दिँदै छ। संगीत मार्फत मन्त्रमुग्ध बनाउन युवाहरुमाझ लोकप्रिय यस ब्यान्डले चितवनमा बेजोड प्रस्तुति दिन लागेको हो।
केहर लिम्बु पछिल्लो युवापुस्तामाझ चर्चित नाम हो ।लिम्बुका धेरै गितहरु लोकप्रिय छन् । उनी नेपाली सांगीतिक आकाशमा पछिल्लो समय उदाउँदो तारा हुन जसको स्वरमा झुम्ने पछिल्लो समयमा धेरै रहेका छन् । ‘सरर सरर’, ‘बैगुनी’, ‘तिमिलाई सम्झेर’, आजकल लगायत धेरै गितहरु उनका नयाँ पुस्तामाझ चर्चित छन् ।
चैत ३१ गते हुने भव्य कन्सर्टको तयारी धमाधम भइरहेको छ भने करिब १५ हजार बढी दर्शक आउने आयोजकको अनुमान छ। यी पाँच ब्यान्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती मार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।
एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ।अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम,रक्तदाता उत्प्रेरणा कार्यक्रम ,सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन्।
मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।












