चितवन । पूर्वी चितवनको रत्ननगरमा यहि चैत २६ गतेदेखि ३० गतेसम्म बृहत निःशुल्क बृहत योग शिविर हुने भएको छ ।
पतञ्जली योग समिति चितवन, उद्योग वाणिज्य संघ रत्ननगर र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरको संयुक्त आयोजनामा हुन लागेको योग शिविरमा १५ सय भन्दा बढी साधक सहभागी हुने अनुमान गरिएको छ ।
शिविर नेपाल माध्यमिक विद्यालयको चौरमा हुने आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मानसिक र नसर्ने रोग न्यूनिकरण, रोकथाम र व्यवस्थापनका लागि शिविर आयोजना गर्न लागिएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरका प्रमुख डा कापिला अधिकारीले सबल मानसिक स्वास्थ्यका लागि योग ध्यान अपरिहार्य रहेको बताइन् । उनले भनिन्, ‘मधुमेह, उच्चरक्तचाप, थाइरोइड, कोलेस्ट्रोरोल, ट्राइग्लाइसेराइड लगायत खराब चिल्लो पदार्थको मात्रा रगतमा आवश्यकता भन्दा धेरै भएर मुटु रोगको जोखिम हुन्छ, योगले यसलाई घटाउँछ ।’
शिविरका संयोजक राजेन्द्रकुमार श्रेष्ठका अनुसार योगगुरु लवदेव मिश्रले शिविरमा प्रशिक्षण दिनेछन् । बिहान ५ बजेदेखि ७ बजेसम्म हुने शिविरको सम्पूर्ण तयारी भईरहेको उनले बताए । शिविरमा मञ्च, साउण्डसिस्टम, कार्पेट लगायतको व्यवस्थापन आयोजकले गर्ने बताउँदै उनले सहभागीहरुले आफूलाई आवश्यक पर्ने म्याट वा तन्न ल्याएर सहभागी हुन सकिने बताए ।












