चितवन । चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेलामा आज एकैदिन ८ हजार ८०० जनाले अवलोकन गरेका छन् ।
यसअघिको मेलामा आएर खरिद गरेको जुत्ता चप्पल हालसम्म पनि प्रयोगमा आएको र मेलामा उपलव्ध जुत्ता चप्पल तथा छालाजन्य सामग्रीले आफुहरुलाई सन्तुष्ट बनाएको उपभोक्ताहरुले प्रतिक्रिया दिएका छन् ।
मेलामा आफु पहिले पनि आएको र यहाँको जुत्ता चप्पलले आफु सन्तुष्ट भएको कारण फेरी पनि आएको खैरहनी पर्सा निवासी भवानी लोहनीले बताइन् । भरतपुर-३ बेलचोकबाट आएका उपभोक्ता मधुसुदन श्रेष्ठ मेलामा उपलव्ध भएका जुत्ताले आफ्नो मन जितेका कारण हरेक पटक मेलामा सहभागी हुने गरेको बताए ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा संचालित व्यापार मेलामा बिएफ़ डियर हिल, शिखर, रन, स्मार्ट, शुजल्याण्ड र फर्स्ट वाक गरी ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।
जुत्ता चप्पल मेला २०८२ बैशाख १० गतेसम्म सन्चालन हुने छ ।












