काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइ कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु हुँदै छ।
प्रतियोगितामा सहभागी छ टिमकै प्रशिक्षक र मार्की खेलाडीले राम्रो प्रदर्शन गरेर उपाधि जित्ने बताएका छन्। काठमाडौँ माभरिक्सका प्रशिक्षक सरोज सिंहले आफ्ना खेलाडीले प्रो कबड्डी लिग खेलेकाले टिम बलियो रहेको बताए।
काठमाडौँको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तान घनश्याम रोकामगर छन्। एनकेएलमा आबद्ध थाइल्यान्डका दुई र बङ्गलादेशका एक खेलाडीसँग पनि भारतमा भएको प्रो कबड्डी लिग खेलेको अनुभव छ। विराटनगर ब्यान्डिटका प्रशिक्षक लोकबहादुर विष्टले आफ्नो टिममा रहेका घरेलु खेलाडीमध्ये धेरैले राष्ट्रिय टिमबाट खेलिरहेको र विदेशमा विश्वकप खेलेका खेलाडी रहेको बताए।
उनले तयारी राम्रो भएको भन्दैै आफ्नो टिममा बङ्गलादेश र थाइल्यान्डका खेलाडी रहेको जानकारी गराए। उनले नेपालमै व्यावसायिक कबड्डी लिग सुरु भएकोमा खुसी व्यक्त गर्दै आफ्नो टिमले फाइनल खेल्ने अपेक्षा गरे। सोही टिमका मार्की खेलाडी कल्याण भुजेलले आफ्नो टिमले शतप्रतिशत दिएर खेल्ने र प्रतियोगितामा खेल्न आतुर रहेको भनाइ राखे।
पोखरा लेकर्सका प्रशिक्षक विष्णुदत्त भट्टले आफ्नो टिममा बङ्गबन्धु र विश्व च्याम्पियनसिपमा पदक जित्ने र प्रो कबड्डीका खेलाडी रहेको जनाए। यसैगरी जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राईले एक महिनादेखि तयारी गरिरहेको र आफ्नो टिममा थाइल्यान्डका दुई र श्रीलङ्काका दुई खेलाडी रहेको बताइन्।












