काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँवाट छुटेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेनन् । जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।
‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिँदै भनिन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।











