चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा दुई वटा गैंडा र एउटा बाघ मरेका छन् ।
मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैंडा पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको थियो । त्यसैगरी मंसिर १३ गते राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैंडा कालगतिले मरेको अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । मंसिरमा मरेका दुवै गैंडा कालगतिले मरेको र खाग खुर सुरक्षित रहेको उनले बताए ।
मंसिर १६ गते अमलटारी सेक्टर अन्तर्गत नन्दपुर घाटमा अर्को बाघसँग जुधेर अन्दाजी ६ वर्षको बाघको मृत्यु भएको थियो । मंसिर २७ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरख गण र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहितको संयुक्त टोलीले कसरा सेक्टर अन्तर्गतको लामी ताल नजिक एउटा घाइते गैंडालाई डार्ट गरी उपचार गरेर छाडिएको उनले जानकारी दिए ।
कात्तिक १३ गतेदेखि यता गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कार्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा नवलपुर बर्दघाट सुस्ता पूर्व, कावासोती नगरपालिका–७ बस्ने वर्ष ६५ का चुन बहादुर बोटेको गैंडाको आक्रमणमा परी मृत्यु भएको थियो। त्यसैगरी मंसिर ८ गते नवलपुर बर्दघाट सुस्ता पूर्व, मध्यविन्दु नगरपालिका–६ बस्ने वर्ष ६५ को नाथुराम महतोलाई घर नजिक खेतबारीमा आलु लगाउने क्रममा गैंडाले आक्रमण गर्दा मृत्यु भएको उनले बताए ।
कार्तिक २४ गते सदावहार मध्यवर्ती सामुदायिक वनमा चितवन, भरतपुर महानगरपालिका–२८ बस्ने वर्ष २८ को पथ प्रदर्शक जग बहादुर माझी गैंडाको आक्रमणमा परी घाइते भए । त्यसैगरी मंसिर १२ गते रिउ खोला नजिक चितवन, माडी नगरपालिका–१ बस्ने छविलाल बोटे गैंडाको आक्रमणमा परी घाइते भए । मंसिर १ गते अमलटारी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गत गुन्द्रही पुल, कठौनामा नवलपुर बर्दघाट सुस्ता पूर्व, कावासोती–१५ बस्ने वर्ष ४० का निरन्जन महतो गैंडाको आक्रमणमा परी घाइते भए भने मंसिर ७ गते चितवन राष्ट्रिय निकुञ्जको टेम्पल टाइगर पोष्टबाट करिब २०० मिटर उत्तर तर्फ गस्ती गर्ने क्रममा नयाँ गोरख गणको टेम्पल टाइगर पोष्टमा कार्यरत सिपाही कृष्ण यादवलाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो।
यस अवधिमा अवैध गतिविधि नियन्त्रण कार्य अन्तर्गत बाघसंग सम्बन्धित कसुर गर्ने १ जना, अनुमति बिना बँदेल पाल्ने २ जना, बिना अनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३० जना, माछा मार्ने २३ जना, परेवा मार्ने १ जना र बिना अनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने ८ जना गरी जम्मा ६५ जना मानिसहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरिएको निकुञ्जले जनाएको छ । वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणको लागि सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नको लागि जिल्ला बन्यजन्तु अपराध नियन्त्रण एकाईको बैठक चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवनमा बुधवार सम्पन्न भएको छ ।











