चितवन । बागमती प्रदेशको यातायात मन्त्री घनश्याम दाहालले चितवनको यातायात कार्यालयलाई नयाँ भवनमा सार्नबाट रोक्दै आएका थिए । जिल्ला समन्वय समितिले यातायात कार्यालयलाई उपलब्ध गराएको भवनको छेउमै माओवादी केन्द्र निकटका कर्मचारीले जबरजस्ती अर्को भवन बनाएपछि सरकारी पक्ष र कर्मचारीबीच विवाद सिर्जना भएको थियो ।
माओवादी निकटकै मन्त्री भएकाले दाहालले भाडामा सञ्चालन हुँदै आएको यातायात कार्यालयलाई नयाँ भवनमा सार्न दिएनन् । उनले तत्काल कार्यालय सार्न नसकिने भन्दै मन्त्रालयमा पत्र लेख्न यातायात कार्यालय भरतपुरका तत्कालिन प्रमुखलाई दबाब दिँदै आएका थिए ।
‘कार्यालय नसार्न दबाब दिँदा पनि तत्कालिन प्रमुखले नमानेपछि उहाँ (मन्त्री)ले कार्यालय प्रमुखको सरुवा गराउनु भएको थियो । अहिले चाँहि चुनाव हारिसकेपछि पनि आफैले उद्घाटन गर्नुभयो’, यातायातका एक कर्मचारीले भने ।
नयाँ भवनमा यातायात कार्यालय सार्ने तत्कालिन यातायात कार्यालय चितवनका प्रमुख विनोद पौडेललाई मन्त्री दाहालले सरुवा गराए । तर यातायात कार्यालय सार्नबाट रोक्न भने सकेनन् । प्रदेश सांसदका लागि फेरि पनि चुनाव लडेका दाहाल चितवन क्षेत्र नं २ (क)मा एमालेका कृष्ण सिलवालसँग पराजित भइसकेका छन् । सिलवालले १६ हजार ५ सय मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार २ सय ६० मत प्राप्त गरे ।
चुनावी नतिजा आएकै दिन दाहालले यातायात कार्यालयको उद्घाटन गरेका छन् । चुनावमा हारेपछि हतार–हतार गरेर खुसुक्क यातायात कार्यालय उद्घाटन गरेका हुन् । यद्यपी कार्यालयमा अझै पनि सिस्टम जडान भइनसकेको र बैंक स्थापना पनि नभएकाले कार्यालय सञ्चालनमा आउन अझै केहि समय लाग्ने यातायात कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले जानकारी दिए । सिस्टम र बैंक स्थापना भएपछि यो महिनाभित्र नयाँ भवनबाट कार्यालय सञ्चालन गर्छाैँ’, उनले भने ।











