चितवन । चितवनमा राहदानी सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गरी राहदानी विभागकाे तथ्यांक व्यवस्थापनमा समस्या देखिएको कारण अर्काे सूचना जारी नहुँदासम्म राहदानी सेवा प्रदान गर्न नसकिने जनाएको हो ।
सेवा सुचारु गर्न विभागसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । प्रशासन कार्यालयले राहदानीको लागि फाराम भेरिफिकेशन, बायोमेट्रिक, भेलिडेशन र राहदानी वितरण लगायतका सेवा दिँदै आएको छ ।
यसैबीच राहदानी विभागले पनि आजै एक सूचना जारी गरी समस्या समाधानको लागि कामहरु भइरहेको र आइतवारसम्म थप जानकारी गराउन सकिने बताएको छ । सोमवारसम्ममा राहदानी सेवालाई पूर्ण रुपमा सुचारु गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।
चितवन प्रशासन कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा १० हजार भन्दा बढी राहदानी (पासपोर्ट) वितरण गरेको छ । प्रशासनले चालु आवको कात्तिक मसान्तसम्म १० हजार ५२१ वटा राहदानीको लागि सिफारिस गरेकामा १० हजार २८५ वटा राहदानी वितरण गरेको हो ।












