काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो, जसको क्षेत्राधिकार दूरसञ्चार तथा त्यससँग सम्बन्धित सेवाको नियमन तथा निरीक्षण गर्नु हो । पछिल्लो केही वर्षयता प्राधिकरणका बजेट तथा कार्यक्रममा भने फरक परियोजनाले स्थान पाउन गरेका छन्, जुन यो क्षेत्रसँग पूर्ण असम्बन्धित छन् ।
यसको ज्वलन्त उदाहरण चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा समेटिएको एउटा कार्यक्रम बनेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेट हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भई प्राधिकरण बोर्डले अनुमोदन गरेको छ । उक्त बजेट तथा कार्यक्रममा प्राधिकरणले अस्पतालका लागि अनलाइन टिकेट काट्ने सिस्टम निर्माणको कार्यक्रम राखेको छ ।
‘अस्पतालहरूको अनलाइन माध्यमबाट टिकट प्रदान गर्ने व्यवस्था मिलाउन आवश्यक सफ्टवेयर तथा प्रविधि विकास गर्ने,’ प्राधिकरणको कार्यक्रममा भनिएको छ । हुन त यो कार्यक्रम प्राधिकरण आफैंले भने राखेको देखिँदैन । कुल ५० लाख बजेट छुट्याइएको यो कार्यक्रम मन्त्रालयले राखेको हो ।
मन्त्रालयको प्रस्तावमा राखिएको यो कार्यक्रम आईसीटी सहयोग अन्तर्गत प्रविधि अनुसन्धान तथा विकास शाखामार्फत कार्यान्वयन हुने उल्लेख छ । अस्पतालहरूमा राखिने यस्ता सिस्टमले सेवाग्राहीलाई सेवा प्राप्तिमा सहज हुने अपेक्षा गरिएको छ ।











