सुनिता सुवेदी
चितवन । चितवन कांग्रेसका पूर्व पार्टी सभापति विकास कोइरालाले चितवन कांग्रेसले कारबाही गर्छु भन्दैमा डराउने जमाना नरहेको बताएका छन् ।
बुधबार उद्योग वाणिज्य संघ नारागणगढको सभा हलमा गरिएको चियापान कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस चितवनले विनाकारण आफूलाई जे गर्दापनि सुख नपाउने अवस्थाको सिर्जना गरेको कोइरालाले बताए । राजनीतिक प्राणी भएपछि जतिसुकै प्रयास गर्दापनि राजनीति छाड्न नसकिने उनले बताएका छन् ।
‘मैले टिकट चाहियो भनेको छैन । तछाडमछाड गरेको पनि छैन ।’ उनले भने, ‘मैले भनेको मान्नै पर्छ, नमाने कारबाही गर्छु भन्ने? अब डराउने जमाना गए ।’
उनले चियापान कार्यक्रमको आयोजना गरेको थाहा पाएपछि चितवन कांग्रेसले हतार–हतारमा मंगलबारनै विज्ञप्ति निकालेर कुनै पनि पूर्व सभापतिको कार्यक्रम नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको थियो । उनी अष्ट्रेलियामा दुई महिना बसेर हालै मात्रै स्वदेश आएका हुन् ।
चाडपर्व र आम निर्वाचनको बेलामा साथीभाईसँग साथमा रहन नपाएको भन्दै उनले शुभकामना आदानप्रदान गर्ने र समसामयिक विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताएका हुन्।
पार्टीमा रहेका इमान्दार कार्यकर्तालाई पार्टीले खेदेको भन्दै उनले दुखेसो पोखेका छन् । राजनितिक दलदेखि नै जनतालाई वितृष्णा भइसकेको उनले बताएका छन् । पार्टीका नेताले जनतालाई विश्वास दिलाउने काम नगरेपछि जनताले वैकल्पिक बाटो रोज्न थालेको उनको भनाई छ ।
‘अन्य व्यक्तिले जनताको विश्वास जित्यो भनेर हामी रिसाएर हुन्छ ? हामीले त्यस्तो गर्नुहुन्न है भनेर जनताको बीचमा उठबस गर्नपर्यो,’ उनले भने , ‘अनि जनताले माफ दिन्छन् । किनकी जनतालाई पार्टीले नै देश चलाउने भन्ने थाहा छ ।’
पार्टीमा इमान्दार र यर्थाथ कुरा गर्ने क्षमता हुनुपर्ने उनको भनाई छ । हिजो एउटा आज फेरी अर्को कुरा गर्न आफूलाई लाज लाग्ने उनले बताए । नेतृत्वले जिम्मेवारी दिए इमान्दारिता पूर्वक फत्ते गरेर छाड्ने समेत उनले बताएका छन् ।
कांग्रेस चितवनले आफूलाई पूर्व सभापति भन्न समेत नदिने निर्णय सहि नभएको बताएका छन् । पार्टीका केन्द्रिय सभापति सेरबहादुर देउवाले समेत आफूलाई पूर्व जिल्ला सभापति भन्ने गरेको स्पष्ट पारेका छन् । उनले भने, ‘म कांग्रेसमा हुने कुरालाई कांग्रेस चितवनले मान्नुपर्छ र ?’
२०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार रहेका कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालालाई पार्टीबाट निश्कासन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै चितवनको नेतृत्व लिन आएको भनेर चियापान कार्यक्रमसंग डराएर केहि व्यक्ति कालिएको पूर्व जिल्ला उपसभापति कैलास कोइरालाले बताएका छन् । कांग्रेस चितवनलाई इंकित गर्दै आफूले गरेको कामको दुष्परिणाम आफैले भोग्नुपर्ने समेत उनले बताए ।











