चितवन । नेपाली कांग्रेसबाट निश्कासित पूर्व जिल्ला सभापति विकास कोइरालाको कार्यक्रमले चितवन ३ मा गठबन्धनलाई धक्का दिएको छ । गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा कार्यकर्ताको न्युन सहभागिता हुनु र कोइरालाको चियापान कार्यक्रममा कार्यकर्ताको उपस्थिती खचाखच हुनुले गठबन्धनलाई पहिलो धक्का पुगेको छ ।

कोइरालाले चियापान कार्यक्रमको आयोजना गर्न लागेको सूचना पाएपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनालले मंगलबार एक विज्ञप्ति जारी गरी विकास कोइराला पार्टीको पूर्व जिल्ला सभापति नरहेको बताएका थिए । पूर्व जिल्ला सभापतिको हैसियतमा कुनै कार्यक्रम नगर्न उनले कोइरालालाई निर्देशन समेत दिएका थिए ।

चियापान कार्यक्रममा बोल्दै कोइरालाले इतिहास कसैले मेटाएर नमेटिने भन्दै डराएर बस्ने जमाना गएको बताए । गठबन्धनका उमेदवार हराउने मेसो स्वयम जिल्ला सभापतिले गरेको उनले आरोप लगाए । कांग्रेस भित्र चर्काे विवाद सिर्जना हुँदै गएपछि कोइरालाको कार्यक्रममा कार्यकर्ताका बाक्लो उपस्थिती भएको हो ।














