चितवन । नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालाको चियापान कार्यक्रमले चितवन कांग्रेसमा हलचल मच्चिएको छ । पार्टीबाट निश्कासनमा परेका कोइरालाले आम निर्वाचनको मुखमा चियापान कार्यक्रम राखेपछि चितवन कांग्रेसमा हलचल मच्चिएको हो ।
२०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ । तिनै कोइरालाले भोलि (बुधबार) चियापान कार्यक्रमको आयोजना गरेपछि चितवन कांग्रेसले हतार–हतारमा विज्ञप्ति निकालेर कुनै पनि पूर्व सभापतिको कार्यक्रम नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।
अष्ट्रेलियामा दुई महिना बसेर हालै मात्रै स्वदेश आएका पूर्व जिल्ला सभापति कोइरालाले सार्वजनिक गरेको निमन्त्रणामा ‘शुभकामना आदानप्रदान तथा चियापान’ भनिएको छ । चाडपर्व र आम निर्वाचनको बेलामा साथीभाईसँग साथमा रहन नपाएको भन्दै उनले शुभकामना आदानप्रदान गर्ने र समसामयिक विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
कार्यक्रम उद्योग वाणिज्य संघ नारायणगढमा राखिएको छ । अनुशासनको कारबाही भोगिरहेका कोइरालाले चितवन ३ मा गठबन्धनका विरुद्ध स्वतन्त्र उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने अनुमान गरिएको छ । कोइरालाको चियापान कार्यक्रमले आगामी निर्वाचनलाई असर पुग्ने चितवन कांग्रेसको आशंका छ ।
पार्टी संरचनामा नरहेका विभिन्न व्यक्तिबाट भेटघाट र चियापान जस्ता कार्यक्रमको आयोजना गरिएको सूचनाप्रति कांग्रेस सभापति राजेश्वर खनालले पार्टीको ध्यानाकर्षण भएको बताएका हुन् । ‘यस्ता गतिविधिले पार्टी संगठन र आसन्न निर्वाचनलाई समेत नकरात्मक प्रभाव पार्ने भएकाले औपचारीक रुपमा यस किसिमका कार्यक्रम नगर्न नगराउन नेपाली कांग्रेस चितवन सम्बन्धित पक्षसँग विज्ञप्ति मार्फत निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै खनालले कोइरालाको नाम नराखी पूर्व जिल्ला सभापतिहरुको नामावली पनि विज्ञप्तिमा समावेश गरेका छन् ।














