अर्घाखाँची । सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइ मैदानको रन वेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गएराति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
प्रदेश नं २–०३८ प ५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए।
यस्तै बा २५ प ८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ। अत्यधिक गतिका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस











