काठमाडौं । नेपालमा १० वर्षको सशस्त्र द्वन्द्वसँगै २०६२–०६३ सालको जनआन्दोलनपछि शासन व्यवस्था बदलियो । परिवेश बदलिए पनि कर्मचारीको आफ्नै मौलिकता झल्कने नाम नभएको भन्दै निजामती सेवा शब्दको विषयलाई लिएर बहस सुरु भएको छ ।
निजामती सेवाको नामको विषयलाई लिएर एक वर्षअघि मात्रै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेरिनुपर्ने बताएका थिए ।
उनी सामान्य प्रशासनमन्त्री भएका बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएका थिए । निजामतीको सट्टा उनले लोकसेवा आयोगले कर्मचारीहरूको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने प्रस्ताव पनि ल्याएका थिए । निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने उल्लेख छ ।
राजाको सेवामा खटिनेलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएकाले गणतन्त्र स्थापनापछि पनि सो नाम सान्दर्भिक नहुने भन्दै निधिले नाम सच्याउने प्रस्ताव गरेका थिए । उनले उठाएको सो प्रसंग एक वर्षपछि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले केही दिनअघि मात्रै निजामती सेवा विधेयकका विषयमा निजामती नाम परिवर्तन गर्नुपर्ने कुरा संसद्मा प्रवेश गराएका छन् । राजाको कामदारका रूपमा अहिले पनि कर्मचारीको नाम राखिएकामा नेता केसीले संसद्मा आपत्ति मात्रै जनाएनन् अब नाम फेर्ने बहसमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
‘निजाम भनेको डाइरेक्टरसिप, एउटा निश्चित समुदायको निजाम, सुल्तान, नबाब भने जस्तै उनीहरूको राज्यमा सञ्चालन गर्ने व्यवस्थापन निजामत हो,’ कांग्रेस नेता केसीले भने, ‘त्यसैले यो नेपालको परिवेशमा कुरा गर्दा यो विषय अत्यन्त गम्भीर विषय छ, यसलाई नागरिक प्रशासन र सार्वजनिक सेवाको नाम दिन सकिन्छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।












