काठमाडाैं । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ ।
युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।
ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा इ–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।
नेपाल सरकारले तय गरेको शून्य कार्बन उत्सर्जनको अन्तिम लक्ष्य र त्यसअघिका आवधिक लक्ष्य परिपूरण गर्ने उद्देश्यले विद्युतीय सवारीको सहजता र सर्वसुलभता कायम गर्न यस्तो सहायता गरिएको युएस एआइडीका निमित्त मिसन निर्देशक कारिन वेल्चले जानकारी दिनुभयो ।
“निजी क्षेत्रलाई समेत प्रवर्धन गर्ने गरी हामीले गरेको यो सहायता परिचालन नेपालको ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहायकसिद्ध हुने छ,” उहाँले भन्नुभयो, “सरकार र अन्य साझेदारसँग यस्ता कार्यमा सहकार्य बढाउन हामी अझै तत्पर छौँ ।” सरकारले सन् २०३० सम्ममा निजी सवारी बिक्रीको ९० प्रतिशत र सार्वजनिक सवारीको ६० प्रतिशत बिक्री विद्युतीय सवारी पु¥याउने लक्ष्य लिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।












