काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको छ।
कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।
चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।
कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए। त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो।
कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै नरिनले २७ तथा आकृष रघुवंशीले २४ रन जोडे। अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहेन।
चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिँए भने मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए।
जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकत्ता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावल छ।
आइपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन्।












