चितवन । सरकारले चितवनका सात जना सहित थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सहिदको सूचीमा थपिएकाहरुको नामावली राजपत्रमा प्रकाशित भएको छ ।
चितवनबाट भरतपुर–१६ का विष्णुप्रसाद दवाडी, भरतपुर–७ का कृष्णप्रसाद पौडेल, भरतपुर–८ का तोपबहादुर खड्का, माडी–७ का लिला पौडेल, भरतपुर–१५ का हृदयराज अधिकारी, भरतपुर–७ का सन्तराम घले र भरतपुर–२३ का वेगानन्द गिरी रहेका छन् ।
उनीहरुले वि.सं २०५४ देखि २०६१ सालसम्मको विभिन्न मितिमा भएको आन्दोलन र संघर्षका क्रममा सहादत प्राप्त गरेका थिए ।
गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भई विवरण अपूर्ण भएका कारण राजपत्रमा प्रकाशन हुन बाँकी २५९ जनाको सहिदहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको थियो ।
विभिन्न मितिमा सहिद घोषणा भएका १ हजार १२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको थियो । सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भएका १५२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको मन्त्रिपरिषदले गरेको थियो ।












