चितवन । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।
दिवसको अवसरमा चितवनमा केहि दिनदेखि यता विभिन्न सचेतनामुलक एवम् स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम हुँदै आएका छन् ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।
नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।












