चितवन । चितवनमा भोलिदेखि सुरु हुन लागेको नवौं फर्मा एक्स्पो २०२४ को तयारी पुरा भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोबारे भरतपुरमा पत्रकार सम्मेलनमार्फत् तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताए । उनले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिंदै विदेशीहरुलाई नेपाली औषधि उद्योगको अवलोकन समेत गराईने बताए ।
उनले नेपालको औषधिमा गुणस्तरमा कुनै कमी नरहेको बताउँदै विदेश समेत निर्यात हुँदै आएको जानकारी दिए । उनले यसै एक्स्पोमा समेत कतिपय देशबाट यहाँको औषधिका बारेमा चासो दिएर अवलोकनका लागि आउँदै गरेको जानकारी दिए । संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको जनाउँदै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको उनको भनाई छ । उनले भने “साधारण नेपाली जनताले औषधि कसरी बन्द, औषधिको गुणस्तर कस्तो छ ? भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्दछन् ।”
सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्को उद्देश्य रहेको उनको भनाई छ । उनले थपे, “विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो रहेको छ ।”
काठमाण्डौंमै एक्स्पो गर्न दवाव भईरहेको समयमा आफूहरुले चितवनमा आयोजना गरेको भन्दै रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो गर्न चितवनमा प्रदर्शनी, होटल लगायतका सेवा सुविधा रहेको बताए । उनले चितवनको पर्यटकीय क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने बताउँदै चितवनवासीले एक्स्पोलाई माया गरेर सफल बनाउने विश्वास व्यक्त गरे ।












