काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या छ पुगेको छ ।
लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए।
दुर्घटनामा परेका ३५ भन्दा बढीको उद्धार गरी उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्नुका साथै घाइतेको उपचार र उद्धारलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले मृतकको परिवारप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।












