चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने वर्ष ३८ को सुनिल कुमार, ५० वर्षीय राजन ठाकुर, सोहि जिल्लाको रक्सौल बस्ने वर्ष १९ को विकास कुमार र नेपालको बारा जिल्ला गढीमाई नगरपालिका–१९ बस्ने ३५ वर्षीय प्रतिमा मण्डल रहेका छन् ।
उनीहरुलाई प्रहरीले आज बिहान करिब ११ः१० बजेको समयमा भरतपुर बसपार्कचोकबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट डाईजोपाम १ हजार एम्पुल, व्युप्रिनर्फिन १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल, खैरो हेरोईन ५२ ग्राम १४० मिलिग्राम, मोबाइल ४ थान र डिएल ७ सिएम १५७६ नम्बरको कार बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आज बिहान बीरगंजबाट नारायणगढतर्फ आईरहेको भारतीय कारमा लागुऔषध ओसारपसार भईरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कार रोकेर चेकजाँच गरेको थियो ।
उक्त कारको अगाडी बाँयातर्फको सिटको अगाडी खुट्टा राख्ने ठाउँ मुनि फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा कागजमा पोको पारिएको ८ वटा पोकामा रहेको डाईजेपाम समेतको लागुऔषध र कालो प्लाष्टिकमा पोको पारी राखेको सेतो प्लाष्टिकमा प्याक भएको लागुऔषध खैरो हेरोईन फेला परेको उनले बताए ।












