चितवन । देवघाटमा लाग्ने माघे सक्रान्ति पर्वलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक भोलि दिउँसो पनि सञ्चालनमा आउने भएको छ । पुस ७ गतेदेखि दैनिक दिउँसो चार घण्टा सडक बन्द गरेर तुइन खोलामा पहाड काट्ने काम भइरहेको छ ।
माघे सक्रान्तिमा पवित्र तीर्थस्थल देवघाटनमा स्नान गर्न जाने भक्तजनको भीड लाग्ने भएकाले आज र भोलि सडक दिउँसो खुला गर्ने निर्णय भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताए ।
तुइन खोलमा पुल बनाउन गत साल कडा चट्टान फोर्न नसकिएपछि चट्टान विस्फोट गर्ने काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो ।
नारायणगढ–मुग्लिन सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विसं २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो ।











