चितवन । रत्ननगर उद्योग वाणिज्य संघले १२औँ संस्करणको रत्ननगर महोत्सव आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन गर्ने भएकाे छ ।
रत्ननगर–१० स्थित टिकौली चौरमा १२ दिनसम्म चल्ने उक्त महोत्सव बारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति लगायतका करिब ४५० स्टलहरु रहने आयोजकले जनाएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक शंकर गिरीका अनुसार महोत्सवमा अलग्गै कृषि परिसर बनाएर कृषि उत्पादनलाई महत्वपूर्ण स्थान दिइनेछ ।
‘चितवनमा बाहै महिना नगदेबालीको रुपमा मकै उत्पादन हुन्छ । मकै बालीलाई उजागर गर्न महोत्सवमा मकैका विभिन्न परिकार पस्कने तयारीमा छौँ,’ गिरीले भने, ‘महोत्सवको मूख्य आर्कषणको रुपमा भुटेको हरियो मकै, मकैको रोटी, उसिनेको मकै र मकैका नयाँ प्रविधिको समेत प्रदर्शनी गर्नेछौँ ।’
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा कृषिलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए । कोरोनापछि थप्प रहेको अर्थतन्त्र महोत्सवले चलायमान बनाउने अपेक्षा गरेको खनालले बताए ।
‘तीन लाखभन्दा बढि दर्शकहरुले महोत्सव अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढिको कारोबार हुने हाम्रो अनुमान छ,’ खनालले भने ।
रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वनले कृषिलाई आधुनिकिकरण गर्दै सबै क्षेत्रलाई उजागर गर्ने हेतुले महोत्सव आयोजना गरिएको जानकारी दिए ।
महोत्सव प्रवेश शुल्क सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ रहेको छ । जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलालाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव संयोजक गिरीले जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवमा काटिएको टिकटका आधारमा मौलाकालिका केबुलकारको टिकट किन्दा ५० प्रतिशत छुट पाइने भएको छ । होटल सेभेन स्टारले महोत्सवको मूख्य प्रायोजन गरेको छ ।
पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सव
रत्ननगरको सौराहाचोक बसपार्कमा आगामी पुस २९ देखि माघ ४ गतेसम्म खाना महोत्सव हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघकै आयोजनामा हुने उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ ।
खाना महोत्सवममा विभिन्न जातजातीहरुको विशेष खाना र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारमा स्टल राखिने आयोजकले जनाएको छ ।












