चितवन । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले यस पटकको प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । भट्टराई आज फेसबुकमा लामो स्टाटस लेख्दै यस पटकको निर्वाचन कतैबाट पनि नलड्ने घोषणा गरेका हुन् । उनी २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निरन्तर विजयी हुँदै आएका थिए ।
‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरु सबैलाई विनम्र जानकारी गराउन चाहन्छु’, उनले फेसबुकमा लेखेका छन्, ‘आगामी दिनमा पनि म निरन्तर तपाईहरूकै सेवामा रहिरहनेछु। चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।’
उनले अझै थपेका छन्, ‘..मेरो ठाउँमा तपाईहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहाँ साथमा हुने छु।’ आगामी प्रतिनिधि सभाको निर्वाचन नलड्ने मनस्थितीमा भट्टराई केहि दिन अघि नै पुगेका हुन् । उनकी छोरी मानुषी यमी भट्टराई काठमाडौँबाट चुनाव लड्ने तयारीमा छिन् । छोरीलाई सहयोग गर्ने उद्देश्यले उनले चुनाव नलड्ने घोषणा गरेको हुन सक्ने केहिको अनुमान छ । यता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट चुनाव लड्ने गाइगुई पनि चलेको छ ।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा जाने हुन् कि भनेर केहिले आशंका गरेका छन् । यतिबेला प्रचण्ड र बाबुराम भट्टराईको सम्बन्ध सुमधुर पनि बनेको छ । यद्यपी प्रचण्डले यसबारे खुलाएका छैनन् । उनले यसअघि नै चितवन–३ बाटै चुनाव लड्ने घोषणा गरेका थिए । त्यसैलाई लक्षित गरेर प्रचण्ड केहि दिनअघि आफ्नै नयाँ घरमा सरिसकेका छन् । चितवनको विकासका लागि प्रचण्ड चितवन–३ बाटै लड्नुपर्ने माओवादी केन्द्रका नेताहरु दाबी गर्छन् । कांग्रेससँगको गठबन्धन कायमै रहेकाले प्रचण्डको सहज जित हुने उनीहरुको आँकलन छ ।











