भरतपुर । २५ वर्षअघि नवलपरासीको गैँडाकोट–९ थुम्सीबाट सेवा सुरू गरेको ‘पाते ढिँडो’ले भरतपुरमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा पातेले उपभोक्ताको मागअनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
पूर्वपश्चिम राजमार्गको थुम्सीस्थित नारायणी नदी किनारमा रहेको पाते ढिंडो होटल एण्ड रेष्टुरेण्ट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रालिको रूपमा आएको होटलका अध्यक्ष वृखलाल गुरूङले जानकारी दिए।
पहिलोपटक पोखरास्थित लेकाली चुल्होको प्रवद्र्धन तथा सहकार्यमा भरतपुरमा पनि शाखा बिस्तार गरिएको उनले बताए। भरतपुर–१०, शिखरचोकमा खुलेको शाखालाई यही मङ्सिर १७ गते शुभारम्भ गर्ने तयारी भइरहेको गुरूङले बताए।
बजारमा पाते ढिँडोको नाममा धेरै होटल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताउँदै उनले भने, ‘हाल पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटल खोली आमग्राहक महानुभावहरूमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ। त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। र, हामीले पहिलोपटक शाखा खोलेको जानकारी गराउँछौँ।’
उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उनको भनाइ छ। ढिँडोसँगै धराने बङ्गुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए। साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सयजना सम्मको क्षमता भएको सुविधा सम्पन्न वातानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकुलीत (एसी) डाइनिङ हलकोसमेत सुविधा थप गरिएको उनको भनाइ छ।
नयाँ शाखा सञ्चालनका लागि करिब २ करोड रूपैयाँ लगानी भएको उनले बताए। उक्त शाखाको लागि हाल २२ जनालाई रोजगारी दिइएको र अङ्ग्रेजी नयाँ वर्षको दिन १ विशेष कार्यक्रम आयोजना गरी ‘ग्राण्ड ओपनिङ’ गर्ने तयारी भइरहेको उनले बताए।












