जनकपुर । महोत्तरीको प्रहरी चौकी हलखोरीमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्।
प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवको पेस्तोलबाट निस्किएको गोली लागेर प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन्।
महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लका अनुसार यो घटना कात्तिक ३० गतेको हो। असई यादवले सुत्नुअघि हतियार चेकजाँच गर्दै थिए। चेकजाँचकै क्रममा अचानक ब्यारेलमा भएको गोली पड्किँदा प्रहरी जवान साहलाई लाग्न पुगेको थियो।
ट्याप–५४ (ठूलो चाइनिज पेस्तोल)बाट निस्किएको गोली भित्तामा लागेर फर्की प्रहरी जवान साहको बायाँ पाखुरामा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।
‘हतियार दैनिकी निकासी गर्नुपर्ने हुन्छ, असई यादवले सुत्नुअघि हतियार निकासी गर्ने क्रममा गोली पड्किएर प्रहरी जवानलाई लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ’ एसपी मल्लले भने ।











