काठमाडौँ । माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही ४ र ५ गते माइतीघर मण्डला बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो।
सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो। उक्त मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएको छ।
इजलासले निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न पनि भनेको छ। संयुक्त इजलासमा यी रिटमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुन्छ।












