चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति विना सञ्चालित ग्लोबल ओरियन्स प्रालिको कार्यालय र विक्री केन्द्रमा बुधबार छापा मारेको छ । विभिन्न फुड सप्लिमेन्ट विक्री वितरण गर्दै आएको ग्लोबल ओरियन्सले सञ्चालनको लागि आवश्यक पर्ने कागजपत्र देखाउन नसकेपछि कागजपत्र लिएर प्रशासन कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
भरतपुर महानगरपालिका–९ बेडिचोकमा रहेको कार्यालयमा फुड सप्लिमेन्ट विक्रीका लागि युवायुवतीलाई तालिम दिने गरेको पाइएको छ । खाद्य र स्वास्थ्य सम्बन्धि फुड सप्लिमेन्ट विक्री गर्ने ग्लोबल ओरियन्सको विक्री केन्द्र भने केन्द्रिय बसपार्क नजिक रहेको छ । शंकास्पद गतिविधि गरेपछि प्रशासनले बुधबार अनुगमन गरेको हो ।
शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरललगायतका विभिन्न तत्वको मात्रा खानाबाट मात्रै नपुगेपछि अतिरिक्त मात्राका लागि फुड सप्लिमेन्ट खाने प्रचलन छ । फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट, कार्बमेटलगायतका पदार्थको खपत नेपालमा पनि बढ्दै गएको छ ।
ग्लोबल ओरियन्सले फुड सप्लिमेन्ट विक्री वितरणको अनुमति, भन्सार अनुमति र भन्सार प्रमाणपत्र देखाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । यहाँबाट फुड सप्लिमेन्ट विक्रीको लागि अनुमति, स्वीकृति लिएको नदेखिएकाले कागजपत्र लिएर प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए ।
ग्लोबल ओरियन्सको केन्द्रिय कार्यालय काठमाडौँमा छ । ‘भरतपुर शाखा आधिकारीक रुपमा दर्ता भएको देखिएन । केन्द्रमा दर्ता हुँदा यस शाखाको बारेमा नखुलाएपछि यहिँ पनि शाखा दर्ता हुनुपर्छ’, उनले भने । फुड सप्लिमेन्ट गर्न युवा युवतीलाई दुई दिनको तालिम दिने गरेको पाइएको छ ।
ग्लोबर ओरियन्सले विक्री गर्दै आएको फुड सप्लिमेन्ट स्वीकृत प्राप्त हो वा होइन भन्ने यकिन पनि नभएको फर्मासिस्ट सविन लामिछानेले बताए । खाद्य विभागबाट स्वीकृत प्राप्त फुड सप्लिमेन्ट भए/नभएको यकिन गरेपछि मात्रै विक्री गर्न दिनुपर्ने उनी बताउँछन् । उक्त कम्पनीले भारतबाट १३ किसिमका फुड सप्लिमेन्ट आयात गरेर विक्री गर्ने गरेको पाइएको छ ।
https://youtu.be/UWYhj8BiTvs











