चितवन । बोस्टन इन्टरनेशन कलेजमा आगामी पुस ४ गतेदेखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथान भर्जन ३.o’ हुने भएको छ ।
कलेजद्धारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीको आयोजनामा हुने उक्त कार्यक्रममा देशभरका कक्षा ११ देखि स्नातकतहमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । इभेन्ट एडभाइजर नितेश कुमार सिंहका अनुसार टोलीमा न्यूनतम २ देखी बढीमा ३ जनासम्म सदस्य रहन पाउनेछन् ।
निरन्तर ४८ घण्टासम्म चलिरहने ह्याकाथन आवासीय कार्यक्रम भएकाले एकजना आराम गर्दै अर्कोले काम गर्नुपर्ने क्लबले जनाएको छ ।
सिंहका अनुसार कार्यक्रममा विद्यार्थीहरुले कुनै एउटा विषयमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न कोडिङ मार्फत योजना प्रस्तुत गर्नुपर्नेछ । तीन दिने उक्त कार्यक्रममा पहिलो दुई दिन योजनालाई कोडिङमा प्रस्तुत गर्नुपर्नेछ । अन्तिम दिन निर्णायक सामु प्रस्तुत गरेर नतिजा प्रकाशन गरिनेछ ।
कार्यक्रमका बिजेतालाई प्रथम पुरस्कार नगद ३५ हजार रुपैयाँको साथ रनिङ सिल्ड र प्रमाणपत्र, द्धितिय पुरस्कार नगद २५ हजार रुपैयाँको साथ प्रमाणपत्र, तृतिय पुरस्कार नगद १५ हजारको साथ प्रमाणपत्र र एक उत्कृष्ट टोलीलाई नगद पाँच हजारको साथ प्रमाणपत्र दिइने क्लबले जानकारी दिएको छ ।
कार्यक्रममा १० देखि १५ टोलीको सहभागिता गराइनेछ । कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । नोभेम्बर २२ देखि ३० सम्म प्रति टोली चार हजार पाँच सय, डिसेम्बर १ देखि ८ सम्म प्रति टोली ६ हजार र डिसेम्बर ८ देखि १२ सम्म प्रति टोली ६ हजार पाँच सय रुपैयाँ लाग्ने छ ।
कार्यक्रमले विद्यार्थीलाई प्राविधिक कौशलताको विकास गर्नुको साथै प्राविधिक कम्पनीहरुको विकासमा ठूलो मद्यत पुर्याउने क्लबले विश्वास लिएको छ । यो कार्यक्रम तेस्रो संस्करण हो ।