–सुनिता सुवेदी
चितवन । भरतपुर महानगरपालिका–१२ मिलन चोक स्थित कल्भर्ट मुनी जुटको बोराभित्रै हातखुट्टा बाँधिएको अवस्थामा दुई वटा लास फेला परेका छन् ।
एकै ठाउँमा छुट्टा छुट्टै बोराभित्र नाईट ड्रेस लगाएको अवस्थामा पुरुष र महिलाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक महिला अन्दाजी ३० वर्षिय र पुरुष ३५ वर्षिय रहेको प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले शब्दसञ्चार डटकमलाई जानकारी दिए ।
‘लासको प्रकृति हेर्दा ४–५ दिन अगाडि अन्यत्रै हत्या गरेर बोरामा हालेर कल्भर्ट मुनी फालेको जस्तो देखिन्छ,’ डिएसपी पण्डितले भने, ‘लास गलिसकेको अवस्थामा भेटिएको छ । यद्यपि आफन्तले चिन्न सक्ने अवस्था छ ।’
जुटको बोराभित्र रहेका लासको हात र खुट्टा छुट्टा छ्ट्टै बाँधिनुको साथै बोराको मुख पनि बाँधिएको छ । घोल भएको उक्त स्थानमा माछा मार्न आएका व्यक्तिले बोराबाट गन्ध आएको थाहा पाए । नजिकै गएर बोरामा हेर्दा एउटा हात देखिएपछि उक्त व्यक्तिले जिल्ला प्रहरी कार्यालय चितवनलाई खबर गरेका थिए ।
लासलाई पोष्टमार्टमको लागी भरतपुर अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेकोले अपराधी जसरी पनि पत्ता लगाउने पण्डितले शब्दसञ्चारलाई जानकारी दिएका छन् ।











