काठमाडौं। आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली तथा २ पटकको विजेता भारत र सर्वाधिक सफल ५ पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।
नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।
५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।
यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन्।
एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।
यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो। यी दुईबीच भएका पछिल्ला ५ खेलमा भारतले ३ खेल जित्दा २ खेल गुमाएको छ।
जारी प्रतियोगितामा भारतका लागि जुनै पनि खेलाडीले जितका लागि योगदान दिइरहेका छन्। जस्तो अवस्थामा पनि टोलीलाई खेलमा फर्काउन सक्षम खेलाडी भारतसँग छन्।
यद्यपी विष्फोटक पाली खेलिरहेका विराट कोहली भारतका हेर्न लायक खेलाडी हुन्। यस विश्वकपमा उनले १० इनिङस् खेल्दा सर्वाधिक धेरै ७११ रन बनाइसकेका छन्। जसमा ५ अर्धशतक र ३ शतक समावेश छ। विराटसँगै ब्याटिङमा कप्तान रोहित शर्मा, श्रेयेस अय्यर, केएल राहुल, शुभमन गिलको प्रदर्शन महत्वपूर्ण हुनेछ। बलिङमा मोहम्मद शामी भारतका लागि मुख्य हतियार फेरि एक पटक साबित हुन सक्छन्।
ब्याटिङमा अष्ट्रेलियाका लागि भरपर्दा खेलाडी हुन्, डेबिड वार्नर। जारी प्रतियोगितामा १० खेलबाट वार्नरले ५२८ रन बनाएका छन्। उनीसँगै मिचेल मार्स र ग्लेन म्याक्सवेल पनि भरपर्दा ब्याटर अष्ट्रेलियाका लागि निर्णायक पाली खेल्न सक्ने खेलाडी हुन्।
लिग चरणबाट सेमिफाइनल पुग्न निर्णायक जस्तै बनेको खेलमा म्याक्सवेल एक्लैले टोलीलाई जित दिलाए। छैटौं नम्बरमा ब्याटिङमा आएका उनले २०१ रनको कीर्तिमानी पाली खेलेका थिए। बलिङमा एडम जाम्पा अष्ट्रेलियाका प्रमुख हतियार हुन।
फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन्। ५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन्। उनी र कुमार धर्मसेना सन् २०१५ को विश्वकपको फाइनलमा पनि फिल्ड अम्पायर थिए। २००९ नोभेम्बरमा एकैदिन आईसीसीको अन्तर्राष्ट्रिय रेफ्री भएका दुबैले यो विश्वकपको सेमिफाइनल खेलाएका थिए।
विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ। यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ।
उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ। सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन्।समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन्। लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन्।