काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन्।
उनले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको भन्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत रहेको बताएका हुन्।
टिकटक बन्द गर्ने सरकारको निर्णय पश्चात् थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ुअभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।‘
आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सदभाव बिग्रिन थालेकाले तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।












