काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ।
‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ। तर दैनिक उडान भने चाप बढिरहेको छ’, उनले भने । महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए।
दसैँको समय अर्थात् गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो। असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एक सय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ ।
तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो। उनका अनुसार तिहार र छठका कारण आन्तरिक तर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ। आन्तरिकतर्फ दैनिक दुईतर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए।












