-सुनिता सुवेदी
चितवन । योगी नरहरिनाथ गौ संरक्षण केन्द्र बागेश्वरीमा अहिले २०० गाईहरु छन् । ती गाईको गहुँत (गौमुत्र)बाट केन्द्रले दैनिक ४८ बोतल ‘गौ अर्क’ उत्पादन गर्दै आएको छ । अर्कले विशेषगरी ग्याष्ट्रिक, कब्जियत, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, छाला लगायतका रोगहरु निको पार्न सहयोग पुग्ने बताइएको छ ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका निर्देशक डा हेमराज कोइरालाले गौ अर्कलाई जनरल औषधीका रुपमा प्रयोग गर्न सकिने बताउँछन् । गौ अर्क परम्परागत रुपमा उत्पादन गरिएको आयुर्वेदिक औषधीको क्याटगोरीमा पर्ने उनी बताउँछन् ।
अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार गौ अर्कले शरिरलाई राम्रो फाइदा भएकाले गौ संरक्षण केन्द्रले पनि उत्पादन गर्न थालेको डा कोइरालाले बताए । गौ अर्क घरेलु उद्योगमा दर्ता गरिएको छ । ‘गर्भवती, हार्मोनको समस्या भएका विरामी, प्रोटिनको एलर्जी भएका व्यक्तिले गौ अर्क प्रयोग गर्न नहुने भन्ने छ,’ उनले भने, ‘सकेसम्म सानो बच्चाले पनि प्रयोग नगर्दा राम्रो हुन्छ, उनीहरुलाई आवश्यक परेको अवस्थामा मात्रा मिलाएर दिनुपर्छ ।’
गाईको गहुँतबाट अर्क उत्पादन गर्दै आएको गौ संरक्षण केन्द्रले लक्ष्मी पूजा, गाई पूजा र गोवद्र्धन पूजाको दिन सामुहिक गौ पुजन गर्दै छ । गौपुजन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष नवराज ढकालले गाईको उचित स्याहारसुसार र संरक्षण गर्न सकेमा गाईको वास्तविक पूजा हुने बताए ।
आश्रमको मातहतमा गौ संरक्षण केन्द्र सञ्चालन हुँदै आएको छ । गुरु योगी नरहरिनाथले २०४३ सालबाट सात स्थानीय जातका गाई संरक्षण सुरु गरेका थिए । २०७१ सालबाट गहुँत प्रशोधन गरी बनाइएको ‘अर्क’ले फुड सप्लिमेन्ट सरह काम गर्ने ढकाल बताउँछन् । उनले भने, ‘बिहान र बेलुका ३ बिर्काे अर्क सेवन गर्दा शरिरमा प्रवेश गरेको खराब टक्सिनलाई हटाउँछ र रोग लाग्नबाट बचाउँछ ।’
अर्कको प्रयोग गरिरहेको समयमा चिल्लो, पिरो, अमिलो र माछा मासु नखानु उचित हुने उनले बताए । अर्क बेचेर सो केन्द्रले मासिक ८० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेको छ । ‘मासिक ७० देखि ८० हजार रुपैयाँको अर्क बिक्रि भइरहेको छ, खर्च कटाएर नाफा भएको करिब ४० हजार जति गौ संरक्षणमा खर्चिन्छौँ,’ उनले भने, ‘यसमा एकजनाले गौमुत्र गर्ने र अर्को एकजना अर्क तयार गर्ने छन् ।’
उत्पादन भएको मितिले एक वर्षसम्म गौ अर्क प्रयोग गर्न सकिने उनी बताउँछन् । अर्क बनाउन बिहान ४ बजे नै गाईहरुको गहुँत बाल्टीमा संकलन गरिन्छ । मेसिनको माध्यमबाट वास्पिकृत भएपछि पानीले चिस्याएर अर्क तयार हुन्छ । पछिल्लो समय गाईको मल विक्री गरेर पनि केन्द्रले आम्दानी गरिरहेको छ । मल बेचेर मासिक ३० रुपैयाँ आम्दानी गरिएको ढकाल बताउँछन् ।
त्यस्तै, आजीवन सदस्य र संरक्षकबाट प्राप्त सहयोगले अक्षय कोषमा ७० लाख रुपैयाँ जम्मा भएको छ । त्यसबाट आउने ब्याज गौ संरक्षणमा खर्चिने गरिएको उनले जानकारी दिए । ‘गौदर्शन गर्न आउनेले दाना, चोकर, पराल ल्याउनुहुन्छ,’ उनले भने, ‘व्यापारिक ठाउँमा राखिएका ३० वटा दान पेटिकाबाट करिब ३५ हजार संकलन हुन्छ ।’
गाईहरुबाट संकलित दूधले चियापान गर्न सहज भएको उनी बताउँछन् । केन्द्रमा गोबर ग्यास प्लाण्ट पनि छ । उक्त प्लाण्टको ग्यासले गुरुकुलका ४० विद्यार्थी, नौ जना गौसेवक र शिक्षकहरु सहित कुल ६० जनालाई खाना पकाउन केहि अपुग हुन्छ ।













