काठमाडौं । बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक रसायन फ्यालेटको मात्रा अत्यधिक रहेको देखिएको छ। जनस्वास्थ्य तथा वातावरण केन्द्रले वैशाखमा गरेको ‘इरेजरमा फ्यालेट’ विषयक अध्ययनले विभिन्न पुस्तक पसल, स्टेसनरी तथा डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका इरेजर परीक्षण गर्दा हानिकारक रसायन पाइएको हो।
अनुसन्धानका लागि ५३ वटा नमुनामध्येमा ३८ प्रतिशत अर्थात् २० वटामा यो रसायन फेला परेको छ। नेपालबाट संकलन भएका नमुनाहरू कोरियन प्रविधिको प्रयोशालामा परीक्षण गरिएको थियो।
यी ठाउँबाट लिइएका इरेजर नै स्कुले बालबालिकाले प्रयोग गर्ने भएकाले यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने अध्ययनमा सहभागी जनस्वास्थ्य तथा वातावरण विकास केन्द्रका निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित साहले बताए।
तर यो अध्ययनसँगै अध्ययन भएका देशहरू कोरिया, भारतलगायतमा बालबालिकाको स्वास्थ्यमा विभिन्न असर देखापरेको उनले बताए। यो आधारमा पनि नेपालका बालबालिकामा फ्यालेटको असर परेको उनको दाबी छ।
यो रसायनले बालबालिकामा हर्मोन उत्पादन गर्ने ग्रन्थीको प्रक्रिया बिगार्छ। फ्यालेटले यो हर्मोन उत्पादन गर्ने ग्रन्थीमा गडबडी गर्ने हुनाले बालबालिकामा मोटोपना बढ्ने, चिडचिडाहट हुने, शारीरिक तथा मानसिक विकासमा बाधा पर्ने र कतिपयमा क्यान्सरसमेत हुनसक्ने साह बताउँछन्।
प्रतिवेदनका अनुसार यो रसायनले स्नायु प्रणाली, प्रजनन स्वास्थ्यमा असर गर्छ। यसका साथै शरीरको प्रतिरक्षामा क्षमतामा समेत असर गरी बौद्धिक क्षमतामा समेत प्रभाव पार्छ। फ्यालेटले महिलाको तुलनामा पुरुषमा बढी असर गर्छ। बढी मात्रामा बालबालिकालाई हानी पुर्याउँछ। आजको नागरिक दैनिकमा समाचार छ ।