काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताएका हुन्। उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए।
समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका उनको भनाइ थियो। उनी शक्ति र सम्पति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए।
‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन। विपनाको कुरा छाडिदिउँ। यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन्। आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन। समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो। समानुपातिक राखेको त दलितहरू, विपन्न समुदायहरू, जनजातिहरू, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ।’ केसीले भने, ‘तर समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्यहरू, पहुँचवालाहरू आएपछि समानुपातिकको औचित्य केरु यसमा गम्भीर रुपले विचार गर्नुपर्छ।’
उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताए। त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने उनले बताए।











