काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटका सबै खेल गुमाउने सम्भावना बढेको छ।
सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको थियो।
सिंगापुरविरूद्ध नेपालले ८ विकेटको जित निकालेपछि दीपेन्द्र वैशाखी टेकेर त्रिवि मैदान आएका थिए। अब नेपालले एक साताभित्र बढीमा चार र कम्तीमा दुई खेल खेल्नेछ। नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ। त्यसअघि उनी मैदान फर्कने सम्भावना न्यून छ।
उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेल गुमाएका थिए।
उनको स्थानमा विवेक यादवले सिंगापुरविरूद्धको खेलमा स्थान बनाएका थिए।












