चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको करिब दुई वर्ष भयो । कोरोना महामारीपछि निर्माण कार्य रोकिएको रंगशाला खण्डहर बनेको छ ।
रंगशालाको मैदान बाक्लो काँसघारी बनेको छ भने पिलर उठाउन प्रयोग गरिएका रडमा खिया लागेका छन् । रंगशाला बनाउँदा बनाउँदै छाडिएका मेशिनहरु घाँसले पुरिन लागेका छन् । रंगशाला भित्र जो कोहीलाई प्रवेश गर्न नदिन भरतपुर महानगरले कर्मचारी खटाएको छ ।
निर्माण सामाग्रीको उधारो रकम १८ करोड नाघेपछि धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको काम रोकेका थियो । कोरोना महामारीका कारण आर्थिक सहयोग पनि उठ्न कठिन भएपछि फाउण्डेशनले रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने मन्त्रीपरिषद् बैठकले रंगशालाको काम अगाडि बढाउने बारे आवश्यक निर्णय लिने बताउँदै आएका छन् । यद्यपी मन्त्रीपरिषद्ले कुनै निर्णय गर्न सकेको छैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि रंगशालाको काम छिट्टै सुरु हुनेमा ढुक्क हुन आग्रह गर्दै आएकी छन् ।
करिब ६३ करोड रुपैयाँ बराबरको काम भइसकेको रंगशालामा अहिले पनि रंगशालाकाे मर्मतपछि खेल खेलाउन सकिन्छ । सरकारले रंगशाला निर्माणका लागि गत आर्थिक वर्षको अन्तिमतिर १२ करोड रुपैयाँ छुट्याएको थियो । तर, प्रक्रिया पुरा हुन नसक्दा बजेट यसै फ्रिज भयो । सरकारी तवरबाट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल पनि लागिपरेका छन् ।