चितवन । नारायणी नदी किनारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बडा दशैँको मुख्य दिन विजया दशमीपछि बुधवार नारायणी किनारमा पर्यटकको भीड लागेको थियो । दशैँ बिदामा घुमघाम गर्न र नारायणी नदीको मनोरम दृश्य हेर्नका लागि पर्यटकहरु यहाँ जाने गर्छन् ।
यहाँ पुग्ने पर्यटकहरु फोटो, भिडियो खिच्न व्यस्त देखिन्छन् । कोहि भने भरतपुर महानगरपालिकाको पहलमा संघीय सरकारले बनाएको ‘सि बिच मोडल’को तटबन्धमा बस्ने र हिँड्ने गर्छन् । सि बिचले पर्यटकलाई थप आकर्षित गरेको छ । दशैँ तिहारलाई लक्षित गरी नारायणी किनारमा पिङ पनि बनाइएको छ ।
बुधवार यहाँ पुगेका पर्यटकहरु घोडामा चढ्ने, चंगा उडाउने, नारायणीमा बोटमा सयर गर्ने लगायतका विभिन्न गतिविधि गरेर रमाए । साँझपख भएको गंगा आरतीमा पनि पर्यटकको भीड लाग्यो । भरतपुर महानगरकै पहलमा संघीय सरकारले यहाँ आरती स्थल पनि बनाउँदै छ । आरती स्थल बनाउने काम केहि दिनमै सुरु हुने बताइएको छ ।