चितवन । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेले झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रण गरिँदा मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । बलात्कार मुद्धामा पक्राउ पुर्जी जारी भएपछि प्रहरी र क्यानको सम्पर्कमा नआई बसेका लामिछानेले आइतबार साँझ फेसबुकमा एक स्टाटस राख्दै आफ्नो स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको र छिट्टै नेपाल फर्किएर उजुरीको प्रतिवाद गर्ने बताएका छन् ।
‘म विरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरीको मात्र आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन’, उनले लेखेका छन् ।
लगत्तै लेखेका छन्, ‘यी सबै कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहमा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’











