स्याङ्जा। जिल्लाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो। उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो।
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेकको लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा र महत्व अझै चुलिएको छ। प्रकृतिको वरदान पाउको भैंसेगौँडा यहाँका प्राचीन मौलिक संस्कृतिले पनि उत्तिकै सम्पन्न रहेको स्थानीय समाजसेवी मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउँछन्।
प्राकृतिक सम्पन्नताकै कारण पछिल्लो समयमा यो ठाउँ वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्रका रुपमा समेत विकास हुँदै गएको उनले बताए।
यहाँका प्राकृतिक विधिताकै कारण प्रकृतिका साथीहरू नामक संस्थाले विभिन्न छवटा शृङ्खलामा यसै ठाउँमा वन्यजन्तु अनुसन्धान विधि तालिम सञ्चालन गरिसकेको उनले जानकारी दिए।
वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा भेटिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए। आचार्यका अनुसार यस क्षेत्रमा ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन्।
“वनस्पति र वन्यजन्तुको अध्ययन एवम् अनुसन्धानका लागि भैसेंगौँडा अत्यन्त उपयुक्त स्थल हो”, उनले भने, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुरदेखि नेपालमा मात्रै पाइने चमेराका प्रजाति पनि यही ठाउँमा भेटिएका छन्।” प्राकृतिक रुपमा भैसेंगौँडा आफैँमा सम्पन्न क्षेत्र भएकाले प्रकृतिका साथीहरूको रोजाइमा यो ठाउँ परेको बताउँदै उहाँले यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने बताए।
तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए।
प्रकृतिका साथीहरूको छैटौँ चरणका वन्यजन्तु अनुसन्धान तालिमका साथै उक्त संस्थाका माध्यमबाट यो ठाउँ वनस्पति एवं वन्यजन्तु अनुसन्धान तालिमका लागि उपयुक्त ठहरिनुलाई आफूहरूले यसलाई महत्वका साथ हेरेको होमस्टेका अध्यक्ष गुरुङ बताउँछन्।
प्रकृति र संस्कृतिले सम्पन्न भैंसेगौँडालाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रूपमा समेत स्थापित गर्ने आफूहरूको लक्ष्य रहेको जनाउँदै उनले यसको सम्भावना र महत्वलाई पनि प्रवर्द्धन गरिने बताए। “प्रकृतिका साथीहरू संस्थाले अनुसन्धान विधि तालिमका क्रममा फेला परेका चरा, स्तनधारी प्राणी एवम् पुतली लगायतका प्रजातिको विवरण समेटेर हामी चाँडै नै पुस्तक प्रकाशन गर्ने सोचमा छौँ”, उनले भने, “यहाँको महत्वलाई उजागर गर्ने गरी वनस्पति एवम् वन्यजन्तुको अध्ययन अनुसन्धानका लागि यो ठाउँलाई खुल्ला विश्वविद्यालयका रुपमा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ।”
यहाँ आउन चाहने पर्यटक एवम् वन्यजन्तु तथा वनस्पतिको अध्ययन गर्ने अध्येता जो कोहीलाई बस्नखानका लागि मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेले सेवा प्रवाह गर्दै आएको जनाउँदै उनले समयमा ठाउँठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गरेको जानकारी दिए। होमस्टेमा दैनिक २० जनासम्म पर्यटकलाई राख्न सकिने व्यवस्था छ। रासस












