चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई जनप्रतिनिधि सम्मान गर्ने भएको छ । आफ्नो वडाको समृद्धि र विकासमा योगदान पुर्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष काफ्लेलाई जनप्रतिनिधि सम्मान गर्न लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए।
असोज २५ गते बिहीबार भरतपुरको सिजी ल्याण्डमार्कमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’मा काफ्लेसहित विभिन्न पेसाकर्मी र कलाकारलाई सम्मान गरिँदैछ । वि।सं २०२३ चैत १५ गते स्याङ्जा जिल्लाको दरौँ सिरुवारीमा जन्मिएका काफ्ले विसं २०२४ देखि भरतपुर–७ स्थित कृष्णपुरको दीपज्योति टोलमा बसोबास गर्दै आएका छन् ।
चितवनका ७ स्थानीय तहका ९८ वडाहरू मध्ये बिकास निर्माण पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक क्षेत्रमा गरेका कार्यहरूको सर्वेक्षणद्वारा उच्च मूल्याङ्कन गर्दै काफ्ले आफ्नो वडामा उत्कृष्ट काम गर्न सफल भएको ठहर गर्दै उनलाई सर्वोकृष्ट सम्मान गर्न लागिएको मिडिया हाउसले जनाएको छ । उनी हाल वडाध्यक्षसँगै प्रेमबस्ती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन्।
त्यसैगरी, कृष्णपुर स्पोर्टस् क्लबको संस्थापक अध्यक्ष, हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूर्वअध्यक्ष, निर्माण व्यवसायी संघ चितवनको पूर्वअध्यक्ष, नेपाल निर्माण उद्योग परिषद्को संस्थापक अध्यक्ष, लायन्स क्लब अफ भरतपुरको पूर्वअध्यक्ष भएर काम गरिसकेका छन्। त्यस्तै, नवजागरण कृषि सहकारीको संरक्षक, नेपाल रेडक्रस उपशाखा कृष्णपुरको संस्थापक कोषाध्यक्ष, क्यान्सर सेवा समाजको संस्थापक तथा वर्तमान कार्यसमिति सदस्य, भरतपुरका विभिन्न संघसंस्थाको सल्लाहकार साथै भरतपुर महानगरपालिकाको सहकारी संयोजक भई महत्वपूर्ण कामहरु गरेका छन्।












