चितवन । भरतपुर महानगरपालिकाले सरसफाई तथा पुनः उपयोगी (कवाडी) बस्तुमा कर संकलनका लागि टेण्डर आब्हान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुले दोहोरो कर लगाएको भन्दै विरोध जनाएका हुन् ।
संघका अध्यक्ष शंकरबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधान विपरित कर उठाउन लागेको भन्दै त्यसले व्यवसायी पलायन हुने अवस्था आउने बताए । उनले भने,‘कर उठानका लागि महानगरपालिकाले बोलपत्र आब्हानको सूचना निकालेको छ, त्यस प्रकृयामा हाम्रो असहमती रहेको छ ।’ उनले महानगरपालिको टेण्डरको प्रकृया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे । पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले व्यवसायीसंग महानगरपालिकाले समन्वय नगरेको र छलफल समेत गर्न नमानेको गुनासो गरे ।
व्यवसायीले गत विहिबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको संघका सचिव पुरन मल्ल ठकुरीले बताए । उनले यही अवस्थामा व्यवसाय संचालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलनमा जाने बताए । उनले कवाडीजन्य बस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नु परेको गुनासो गरे ।
नेपालको संविधानले कुनैपनि बस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको संघले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाई तथा पुनः उपयोगी (कवाडी) बस्तुको व्यवसाय गर्दै आएका छन् । भरतपुर महानगरपालिका भदौ २४ गते कर संकलनका लागि दुई बर्षको ठेक्का आब्हान गरेको छ ।












