चितवन । नेपालमा अवैध रुपमा भइरहेको माछाको आयात रोक्न व्यवसायीहरुले आग्रह गरेका छन् । उद्योगी तथा व्यवसायीका विभिन्न सात संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी भन्सार छली गरी ल्याइएको माछा न्युन गुणस्तरीय समेत भएको बताएका हुन् ।
फर्मालिन र नाइट्रेड जस्ता घातक केमिकल मिसाएर बनाइएको बरफमा राखेर ल्याइएको भारतीय माछाले नेपाली जनताको स्वास्थ्यमा असर परेको व्यवसायीको भनाइ छ । त्यस्तो माछा सस्तो पर्ने भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न समेत नसकेको उनीहरुले बताएका छन् । यद्यपी नेपालमा माग अनुसार माछाको उत्पादन पनि भइरहेकाले नेपाल आफै माछामा आत्मनिर्भर रहेको व्यवसायीले बताएका छन् ।
भारतबाट अवैध रुपमा भित्रिने माछासँग स्वदेशी माछाको बजारले प्रतिस्पर्धा पनि गर्न नसक्ने नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी बताउँछन् । ‘नेपालमा आइपुग्ने माछा आन्द्र प्रदेशका हुन् । त्यहाँको सरकारले माछाको बजारीकरणमा सहुलियत दिने रहेछ । त्यतिमात्र नभएर राजस्व छलेर आएका माछा नेपालीभन्दा सस्तो पर्ने भएकाले भारतीय माछाको अवैध व्यापार भइरहेको छ’, उनले भने ।
भारतीय माछा ल्याउँदा व्यवसायीले बढी फाइदा राख्न पाउने र उपभोक्ताले पनि सस्तो पाउने भएको भारतीय माछाको अवैध व्यापार बढिरहेको उनी बताउँछन् । यद्यपी त्यस्तो माछा यहाँसम्म ल्याइपु¥याउँदा धेरैजसो सड्ने र फर्मालिन केमिकल प्रयोग हुँदा स्वास्थ्यलाई पनि गम्भिर असर पुग्ने उनले बताए ।











