चितवन । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल म्याद थपिएको समयमा पनि सम्पन्न नहुने संकेत देखिएको छ ।
२७ महिनामा सक्ने गरी २०७७ साल मंसिरमा काम सुरू भएको सिटी हल ३३ महिनामा भौतिक निर्माणको प्रगति ५५ प्रतिशत मात्रै छ । गत जेठमा आगामी फागुनसम्म म्याद थपिए पनि कामको गति हेर्दा अबको ६ महिनामा काम सकिने छाँटकाँट छैन । अझै काम सक्न एक वर्ष लाग्ने सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले जनाएको छ ।
कार्यप्रगति हेर्दा अझै एक वर्ष लाग्ने जस्तो देखिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताए । फागुनसम्ममा निर्माण कार्य नसकिए फेरि दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ । प्रमुख थापाले भवन निर्माणमा आर्थिक अभाव भने नभएको स्पष्ट पारे । उनले भने, ‘ भवन निर्माणमा आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्रीहरु ल्याउनुपर्ने भएकोले समय लाग्छ । अझै एक वर्ष लाग्ने देखिन्छ ।’
निर्माणको काम हेरिरहेका इञ्जिनियर सुदन खतिवडाले सिटी हलको भित्र फिनिसिङको काम भइरहेको बताए ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालयपछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । दुई हजार मानिस अट्न सक्ने क्षमताको सिटी हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८८८ रूपैयाँ रहेको छ । सिटी हल बनाउन कम्पनी इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मंसिर १८ गते सम्झौता भएको थियो । २७ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।












