काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज पनि हुने भएको छ। स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो।
हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो। श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए।
यी दुईले पहिलो विकेटका १६.४ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए। पहिलो पावर प्लेमा पाकिस्तानी बलर विकेटविहीन रहे। साहिन साह अफ्रिदीले पहिलो ओभरमा सुरुवातका पाँच बल डट फालेका थिए। तर अन्तिम बलमा रोहितले छक्का प्रहार गरे। यो भन्दा अघिसम्म साहिनलाई अन्तराष्ट्रिय क्रिकेटमा पहिलो ओभरमा कुनैपनि ब्याटरले छक्का हिर्काएका थिएनन्। महँगा सावित भएका साहिनले आफ्नो सुरुवाती तीन ओभरमा ३१ रन खर्चिएका थिए।












