चितवन । चितवन प्रदर्शनी केन्द्रमा भदौ २२ गतेदेखि सुरु भएको तीज विशेष उद्यमशील मेला आइतबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशीलताको लागि प्रेरणा दिन चितवन उद्योग संघ महिला उद्यमी मञ्च र चितवन उद्योग संघ युवा उद्यमी मञ्चको संयुक्त आयोजना र महिला सिर्जनशिल केन्द्रको सहकार्यमा मेला आयोजना गरिएको थियो ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहेका थिए ।बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेको मेलाको दोश्रो दिन उद्यमशीलतामा विविधता सम्बन्धी सेमिनार सहितको उद्यमी सम्मेलन भएको थियो । चितवन उद्योग संघ महिला उद्यमी सदस्य एवम् साँस्कृतिक कार्यक्रम संयोजक अम्बिका धितालले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।
मेलाको अन्तिम दिन चितवन तथा आसपास जिल्लाका महिला उद्यमीहरु बीच भएको “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षक तीज गीत प्रतियोगितामा सहभागी ६ समूहलाई पछि पार्दै नवलपुर उद्योग संघ, महिला उद्यमी मञ्च, नवलपुर प्रथम हुन सफल भएको छ । त्यस्तै तीज गीत प्रतियोगितामा चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनी द्वितीय, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, कालिका तृतीय र उद्यमशिल महिला समूह, रत्ननगरले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहलाई रु २०,०००, रु १५,०००, रु १०,००० र रु ५,००० प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी अन्य दुई समूहरुलाई रु २००० का दरले प्रदान गरिएको कार्यक्रम संयोजक एवम् महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले जानकारी दिइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ प्रमुख निर्णायक रहेको प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश सदस्य सिता कँडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवका द्धितीय उपाध्यक्ष उपेन्द्र देवकोटा (गोर्खाली) निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगिताका निर्णायकहरुले सुर, ताल, लयमा २० अंक, प्रस्तुतिमा २० अंक भेषभुषामा २० अंक, गीत र नृत्यको तालमेलमा २० अंक र शब्द संयोजनमा २० अंक गरी १०० अंकको आधारमा निर्णय गरेका थिए । विशेष साँस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रममा वाद्यवाधकतर्फ सुरज बज्राचार्य, दानु गुरुङ र अभिषेक घर्ती मगरले साथ दिएका थिए । एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु लगायतका ५२ वटा स्टलहरु रहेका थिए ।












