काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ उदाएका पार्टीहरूलाई हुण्डरीको संज्ञा दिएका छन्।
आइतबार समाजवादी मोर्चाको हेटौंडामा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै हुण्डरी जसरी आउने पार्टीविरूद्ध एकताबद्ध भएर चुनौती दिनुपर्ने बताए।
‘अहिले लामो इतिहास बोकेका पार्टीहरू हिजो जेल नेल, भूमिगत जीवन, यातना, त्याग, तपस्या, बलिदानले कीर्तिमान बनाएका पार्टी र नेताहरू तिनका कार्यकर्ताहरू अपमानित गर्ने र जसको कुनै इतिहास छैन‚ बलिदान, त्याग छैन। एउटा हुण्डरी जस्तो आउने र त्यसलाई मद्दत गर्ने प्रवृत्ति देखिएको छ। त्यसकाविरूद्ध हामीले एकताबद्ध भएर चुनौती दिनु छ। हामीले ल्याएको परिवर्तनको गर्व गर्न सक्नुपर्यो। देशमा निरंकुशता, सामन्ततन्त्र, दलाल पुँजीवादको हैकम कायमै छ। त्यही दलाल पुँजीवादको हितको निम्ति काम गर्ने विचार र प्रवृत्तिविरूद्ध चुनौती दिन सक्नुपर्यो। सबै कमरेडहरूले हिजोको भन्दा फरक ढंगले सहयोग गर्नुस्। त्यसरी मात्रै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र राष्ट्रलाई एकताबद्ध गर्न सक्छौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले देशलाई धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत गराउने तत्वहरूले टाउको उठाएको बताए। उनले अहिले परिवर्तनलाई उल्ट्याउन माओवादीमाथि जातीय र धार्मिक द्वन्द्व गराएको आरोप लाग्ने गरेको बताए।
‘एकथरि तत्वहरू धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत बनाउन टाउको उठाएको देखिन्छ। अर्कोतर्फ जातीय दंगाका कारण यो परिवर्तन उल्ट्याउन खोज्ने अतिवाद पनि हामीले देखेका छौं। हामीले पहिचानवाद, संघीयता र समावेशीताको कुरा गर्ने माओवादीले नै देशको एकता भत्कायो भन्छन्। तर माअोवादी आन्दोलनका कारणले जातीय र धार्मिक द्वन्द्व भएको एउटा पनि उदाहरण छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।