धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्याएका छन्।
झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयर बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रूपमा प्रस्तुत हुँदै आएका छन्।
यसपटक उनीमाथि प्रश्न गरेको भन्दै धरान–१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पुर्याएका छन्। उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा छन्।
मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए।
त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। यो भिडिओ पनि सार्वजनिक भइसकेको छ।
‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाएका छन् ।












