चितवन । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि तीज विशेष उद्यमशील मेला सुरु भएको छ । मेलाको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा भएको तीज विशेष उद्यमशील मेला भदौ २४ गते (आइतबार)सम्म सञ्चालन हुने छ ।
मेलाको उद्घाटनपछि बोल्दै स्वास्थ्य मन्त्री जोशीले उद्योगी व्यवसायीको संरक्षण गर्ने दायित्व राज्यको हुने बताए । ‘धेरै व्यक्तिलाई उत्पादनसँग जोडेर नेपालमै बस्ने वातावरण बनाउनु भएको छ । यस खालको वातावरण राज्यले गर्नुपर्छ । तीनै तहको सरकारले उद्योगी व्यवसायीको संरक्षण र प्रबद्र्धन गर्ने राज्यको दायित्व हो’, उनले भने ।
देशको अर्थतन्त्र धरासायी भएको कुरा सबैलाई थाहा भएको भन्दै उनले उद्योगको क्षेत्रमा जुन किसिमले फड्को मार्नुपर्ने थियो त्यो हुन नसकेको बताए । महिला उद्यमीले आफैले उत्पादन गरेका वस्तु मेलामा राखेर अरु महिलालाई प्रेरणा दिने काम भएको भन्दै उनले महिला उद्यमीले सञ्चालन गरेका उद्योग व्यवसायलाई राज्यले छुट तथा सुविधामा प्राथमिकतामा राख्नुपर्ने बताए ।
आफ्नै देशमा मेहनत गर्ने प्रयास गरेकोमा महिला उद्यमीलाई उलने धन्यवाद दिए । त्यस्तै तीज पर्वलाई उत्पादनमुलक क्षेत्रमा जोडेर मनाएकोमा उनले खुसी व्यक्त गरे । मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवा राखिएको छ । तीन नजिकिँदै आएकाले महिलाले तीजमा प्रयोग गर्ने वस्तुलाई प्राथमिकता दिइएको आयोजकले बताएको छ ।











